अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युब च्यानललाई कारबाहीका लागि सिफारिश

काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभर्ई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युब च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ ।

निराधार, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गर्नेलाई कारवाहीका लागि सिफारिस गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

असअघि सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै मंसिर ८ गते युट्युबसहितका १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको उनले बताए । कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाएपछि अधिकांशले सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस गरिसकेको बोहराले बताए ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय गर्ने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यक्ति एवं वयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न नगराउन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तासँग आग्रह गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर