मेलम्चीको पानी काठमाडौंमा पथान्तरण भएपछि मात्रै मन्त्री यादव राजधानी फर्किने प्रतिबद्धता

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गरेपछि मात्र आफू काठमाडौं फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) को स्थलगत निरीक्षण गर्न इन्जिनियरहरूसहित सिन्धुपाल्चोक पुगेका मन्त्री यादवले आफूहरू चार÷पाँच दिनसम्म मुहान क्षेत्रमै बस्ने जानकारीसमेत दिए । उनले भने, “एक÷दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो निर्माण हुन्छ । त्यसपछि मुहानस्थलमा काम सुरु हुन्छ । चाँडोभन्दा चाँडो काठमाडौंमा पानी पठाइने छ । प्राविधिक रूपले केही ढिलो भए पनि मेलम्चीको पानी काठमाडौं पठाउन यहाँका स्थानीय जनता एकमत रहेका र उहाँहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारीले बाहिर भने जस्तो पानी पठाउन सजिलो नरहेको बताउँदै पानी पथान्तरण गरिने सुरुङमा समस्या नभए पनि पानी बगाउन प्रयोग गरिने प्रेसर सुरुङमा समस्या रहेको बताए ।
उनले भने, “हेडवक्र्स क्षेत्रमा १५ मिटर गहिरो पुरिएको छ । त्यहाँ जम्मा भएका ढुङ्गा बालुवा पूरा सफा नगरिएसम्म पानी पठाउने प्रणाली सञ्चालनमा ल्याउन सकिँदैन । मुहानसम्म पुग्ने बाटो निर्माणसँगै हेडवक्र्स क्षेत्रको काम सुरु हुन्छ ।” उनका अनुसार बाटो निर्माण र हेडवक्र्स क्षेत्रको सफाइका लागि चार वटा डोजर परिचालन गरिएको छ ।
आयोजनाको मुहानस्थलमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले यसअघिको निर्माण कम्पनी केएमसीले निर्माण सामग्री आपूर्तिकर्ता (भेन्डर) हरूसँग लिएको उधारो नतिरेकाले तिनीहरूले आयोजनामा काम गर्न नदिँदा यो वर्ष काममा ढिलाइ भएको बताए ।

उनले भेन्डर (निर्माण सामग्री आपूर्ति गर्ने) हरूसँग सहमति भइसकेकाले अब बाटो निर्माणलगायतका काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार भेन्डरलाई तिर्नुपर्ने रकम करिब ११ करोड रुपियाँ रहेको छ । पानी पठाउन रहेको समस्याको पहिचान भई कामसमेत सुरु भइसकेकाले अब छिट्टै नै पानी पथान्तरण हुने उनले विश्वास व्यक्त गरे ।

मुहानस्थलसम्म पुग्न बाटो नै नभएकाले काम सुरु हुन नसकेको चर्चा गर्दै उनले भने, “काठमाडौंमा पानी कति दिनमा पु¥याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरिरहेका छौँ । आशा गरौँ एक महिनाभित्र पानी काठमाडौं पुग्छ ।”
काठमाडौँमा पानी पठाउन यहाँको स्थानीय सरकारबाट निरन्तर सहयोग हुँदै आएको जानकारी दिँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भन्नुभयो, “मेलम्चीको पानी पठाउन हामी सहयोग गरिरहेका छौँ । स्थानीयका पनि केही माग छन् । यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा पटक पटक ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनु पर्छ ।”

मेलम्चीको पानी खान पाऊँ भन्दै काठमाडौंमा मेलम्ची खानेपानी सङ्घर्ष समिति गठन गरिएको छ । आयोजनाको मुहानसम्म पुगेर फर्केका समितिका सदस्यले काठमाडौं पानी पठाउन कुनै समस्या नरहेको दाबी गरेका छन् ।

समितिका सदस्य राममणि अधिकारीले हेडवक्र्समा राखिएको फलामको पाता हटाए मात्र सुरुङभित्र पानी पठाउन सकिने र केही दिनभित्र काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने बताए । मङ्सिर ८ गते सङ्घर्ष समितिले निर्णय गरेर ६ जना सदस्य मेलम्चीको वास्तविक अवस्था स्थलगत रूपमै थाहा पाउन मेलम्ची आयोजनाको हेडवक्र्ससम्म पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर