नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौं । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ स्वरकिन्नरी तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गर्ने भएको छ ।

कोषका अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब ६ दशक समर्पित भएवापत सो सम्मान दिने निर्णय गरेको हो ।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनुका साथै केही गीतमा सङ्गीत पनि दिएकी थिइन् । उनको नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ ।

बीसको दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक प्रकाशित छन् । यही मङ्सिर १९ गते स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर