खाद्यको च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो।

उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ।

खाद्य कम्पनीका अनुसार यस पटकको दसैँमा च्याङ्ग्राको मासु प्रतिकेजी एक हजार २५० रुपैयाँ तोकेको थियो। हिमाली जिल्ला मुस्ताङ र रसुवाबाट ल्याइएका एक हजार च्याङ्ग्रा खसीबोकाभन्दा महँगो भएकाले ग्राहकको आकर्षण कम भएको र भाउ घटाउँदा पनि नबिकेको खाद्य कम्पनीले जनाएको छ।

खाद्य कम्पनीको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी छन्। ती च्याङ्ग्राको औसत तौल ३० देखि ३५ केजीका रहेको जनाएको छ। स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने छन्।

बोलपत्र धरौटी रकम ७५ हजार रुपियाँ र न्यूनतम कबोल दर प्रतिकेजी एक हजार १२५ रुपैयाँ तोकिएको छ। दरभाउपत्र पेस गर्ने म्याद आगामी पुस १ दिउँसो १२:०० बजेसम्म छ। दरभाउपत्र सोही दिन दिउँसो २:०० बजे खोलिने कम्पनीले सार्वजनिक गरेको सूचनामार्फत जानकारी गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर