काठमाडौंमा मेलम्चीको पानी पुसदेखि मात्रै आउने सम्भावना

काठमाडौं ।  खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौं  पठाउन तीव्र गतिमा काम भइरहेको बताएका छन्। मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु, अम्बाथानलगायतको क्षेत्रको शुक्रबार स्थलगत अनुगमनका लागि आएका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी पठाउन तीव्र गतिमा काम भइरहेको बताए।

‘बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ,काठमाडौंवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौं  पुर्‍याउँछौं,’ उनले भने। हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौंवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिए।

अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले बाढीले पुर्‍याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौँ पुग्छ भनेर भन्न नसकिने बताए। ‘काठमाडौँ पानी कति दिनमा पुर्‍याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरेका छौं, आशा गरौँ एक महिनाभित्र पानी काठमाडौं  पुग्छ,’ उनले भने।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए। ‘मेलम्चीको पानी काठमाडौं पठाउनका लागि स्थानीय सरकार पूर्णरुपमा सहयोग गरिरहेको छ, हाम्रा पनि केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनुपर्छ,’ अध्यक्ष शेर्पाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर