दुई मन्त्री रिहा भएपछि गिनी बिसाउमा गोली चल्यो

काठमाडाैं  ।  गिनी बिसाउ नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका छन् ।

अर्थमन्त्री सुलेमान सेइदी र ट्रेजरी राज्यमन्त्री एन्टोनियो मोन्टेइरोलाई बिहीबार बिहान बोलाएर न्यायपालिकाले हिरासतमा लिएको थियो । प्रहरीले राज्यकोषबाट एक करोड अमेरिकी डलरको निकासीका बारेमा दुवै अधिकारीहरूसँग थुप्रै घन्टा सोधपुछ गरिएको तिनै स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले सेइदीसँग राज्यकोषबाट रकम निकासीका बारेमा प्रश्न गरेका थिए । उनले निकासी कानूनसम्मत रहेको र राष्ट्रिय निजी क्षेत्रलाई समर्थन गर्नु त्यसको उद्देश्य रहेको दाबी गरेको थियो । नेसनल गार्डका सदस्यहरूले दक्षिणी सान्ता लुजिया जिल्लाको ब्यारेकमा आश्रय लिनुअघि बिहीबार राति सेइदी र मोन्टेइरोलाई अज्ञात स्थान लगेको स्रोतहरूले बताएका छन् । त्यसपछि छिमेकको ब्यारेक नजिकै ठूलो गोली हानाहानको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।

स्रोतहरूका अनुसार मध्यस्थताको धेरै असफल प्रयासपछि विशेष बलहरूले हस्तक्षेप गरेका थिए र गोली हानाहानपछि शान्ति बहाल भएको छ । इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (इसिओडब्लुएएस) ले देशमा तैनाथ गरेको गिनी बिसाउ स्टेबिलाइजेसन सपोर्ट फोर्सका सदस्यहरू शुक्रबार बिहान बिसाउको सडकमा गस्ती गरिरहेको देखिएको एएफपीका पत्रकारले बताएका छन् ।

सन् २०१९ डिसेम्बरमा निर्वाचित राष्ट्रपति उमारो सिसोको एम्बाले हाल २८औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन दुबईमा छन् । उनले सेप्टेम्बरमा दुई जनरल टोमस जस्सी र होर्टा इन्टालाई क्रमशः राष्ट्रपतिको सुरक्षा प्रमुख र चिफ अफ स्टाफका रूपमा नियुक्त गरेको थियो । पश्चिम अफ्रिकामा विशेषरूपमा ग्याबोन, नाइजर, माली, बुर्किना फासो, गिनी र यसै साता फेरि सिएरा लियोनमा सरकारलाई अपदस्थ गर्ने प्रयास बढिरहेका बेला राष्ट्रपतिको सुरक्षामा उक्त सुदृढीकरण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर