इजरायल–हमासबीच युद्धविराम अन्त्य, फेरि हवाई आक्रमण सुरु

काठमाडौं ।  इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्राेही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण भएको जनाएको छ । त्यहाँ विस्फोट र गोलीबारीको आवाज सुनिएको छ । सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनी रिहा भएका छन् ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छहजार बालबालिकासहित १४ हजार आठ सयभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर