विपिनलाई विनासर्त रिहा गर्न संसदीय समितिको आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको विनासर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग विनासर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिना सर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताए । उनले नेपाल कुनैपनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनैपनि कारणबिना बन्धक बनाइनु नहुने बताए । साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको बताए । उनले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्ने बताए ।

उनले भने, ‘नेपाली युवा जो इजरायल जानुभएको थियो विपिन जोशी । हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको बिना सर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ । नेपाल कुनैपनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनैपनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन ।’

कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदयशमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवलशमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल र सम्झना थपलिया छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर