साईकुमारी मन्दिर परिसरमा डिग्रे मेला सञ्चालन

काठमाडौं । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साईकुमारी मन्दिरमा हरिबोधिनी एकादशी मेलामा डेढ लाख भक्तजनले दर्शन गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म पाँच दिन भव्य मेला लाग्ने गर्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मङ्सिर ७ गतेदेखि ११ गतेसम्म साईकुमारी मन्दिर परिसरमा डिग्रे मेला सञ्चालन भएको थियो । कर्णालीको प्रसिद्ध, धार्मिक र पर्यटकीय केन्द्रका रूपमा पूजापाठ गर्न र मेला भर्न आउनेको छुट्टै खालको विश्वास रहेको छ । अध्यक्ष केसीले भने, “मनले चिताएको कुरा पूरा हुने विश्वास छ । भक्तजनले सन्तान प्राप्तिको भाका गर्दै पूजा गर्ने गर्छन् । आकर्षक र रमणीयस्थल भएकोले पर्यटकीय गन्तव्य पनि हो ।”

किंवदन्तीअनुसार थर्पु गाउँका गौतमले चराउन लगेका गाई घर फर्कन मानेन । साईकुमारी भगवती देवीले दूध चढाउन आग्रह गरिन् । दूध चढाइएपछि मात्र गाईलाई घर ल्याउन सकिएको थियो । यही शक्ति र आस्थाका कारण हरेक दिन गाईको दूधदेवीका लागि र हरेक एक वर्षमा देवीको वाहन बाघलाई बोका बलि दिनुपर्ने चलन सुरु भएको बताइन्छ । देवीको सुरक्षाका लागि लट्ठी नाचसमेत नचाउन थालियो । यो नाच मेलाको मुख्य आकर्षण पनि हो ।

मुसीकोट नगरपालिका–७, साँख गाउँबाट आउने सगालको लट्ठी नाचपछि औपचारिक रूपमा डिग्रे मेला सकिन्छ । सगाल मन्दिर परिक्रमा गरेर बाजागाजासहित मन्दिर परिसरको चौरमा लट्ठी नाच गर्छन् । साईकुमारी देवीको सुरक्षाका लागि यो नाच नचाउने गरिएको बताइन्छ । हरेक वर्ष दर्शनार्थी बढ्दै गएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । टाढाका भक्तजन एक–दुई वर्ष बिराएर भए पनि दर्शनका लागि आउने गरेका छन् । रुकुमपश्चिमका साथै रुकुमपूर्व, सल्यान, जाजरकोट, दाङ, रोल्पा, बाँके, सुर्खेतलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेको बताइन्छ ।

मन्दिरमा विसं १६४१ को घन्टी भेटिएको छ । मन्दिरमा पूजाअर्चना, दर्शन तथा मेला भर्ने काम भने त्यसअघिदेखि नै भएको मानिन्छ । साईकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ । मन्दिरनजिकै पानीका धारा रहेका छन् । मेलामा मान्छे बढेसँगै धारामा पानी पनि बढ्ने विश्वास रहिआएको छ । यो मन्दिरमा वर्षैभरि पूजाआजा र बलि चढाउने भए पनि मेलाको पाँच दिन विशेष तरिकाले पूजाआजा हुन्छ । बलि चढाउनेको सङ्ख्या पनि धेरै हुन्छ । एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुने र पूर्णिमाको दिन भव्य मेला लाग्छ । एकादशीका दिन र पूर्णिमाको दिन बलि चढाउन मिल्दैन । मेलामा विभिन्न झाँकी प्रस्तुत गरिन्छ । मयूर, सिँगारु र पैसेरु नाचका साथै काठेपिङले मेलामा रौनक थपेको हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर