केरुङ–काठमाडौं ७२ किलोमिटर रेल्वेको हवाई सर्वेक्षण सम्पन्न

काठमाडौं । नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गअन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिए ।

“रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौं खण्डको काम सुरु हुन्छ,” उनले भने, “अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।”

सम्झौताअनुसार ४२ महिनाभित्र सो आयोजनाको सम्पूर्ण सर्वेक्षण पूरा गर्नुपर्ने छ । जसमध्ये एक वर्ष लगाएर मात्र नुवाकोट खण्डको सर्वेक्षण सम्पन्न गरिएको हो । अझ दुई वटा जिल्लाको सर्वेक्षण बाँकी छ । महानिर्देशक बिसुरालका अनुसार अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण,।टढ दोस्रोमा भौगोलिक अनुसन्धान र तेस्रोमा रेल रेखाङ्कन योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिने छ । ‘बेल्ट एन्ड रोड’ अवधारणाअन्तर्गत नेपालले चीनसँग प्रस्ताव गरेका विभिन्न विकास परियोजनामध्ये केरुङ–काठमाडौं रेलमार्ग पनि एक हो । यस परियोजनाले नेपाललाई भू–परिवेष्ठितबाट भू–जडित मुलुकका रूपमा रूपान्तरण हुने विश्वास गरिएको छ ।

रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने विश्वास गरिएको छ । चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माणका लागि फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागले जनाएको छ । केरुङ–सिगात्सेको दुरी ५४० किलोमिटर छ भने प्रस्तावित केरुङ–काठमाडौं  रेलमार्गको दुरी ७२ किलोमिटर छ । रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सो रेल परियोजनाको सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर