मोतिपुर–जुफाल सडकखण्ड हिलाम्य भएपछि यात्रुलाई सास्ती

काठमाडौं ।  हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्ड हिलाम्य भएपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठूलीभेरी नगरपालिका वडा नं ७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमीटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवत जावत गर्ने जीप,टयाक्टर,मोटरसाइकल लगायतका सवारीसाधनलाई सञ्चालनमा समस्या भएको छ । जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको छ ।जसका कारण करिब दुईसय मीटर सडक हिलोले भरिभराउ भएको हो ।

निलो माटो त्यसमा पनि पानीले हिलो बनाएपछि बाटो चिप्लो भएर जीप,मोटरसाइकल लगायतका सवारीधानकाका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप ब्यवसायी शेरबहादुर कठायतले जानकारी दिए । जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरुले समस्या भोगिरहेको कठायतको भनाइ छ । ‘नगरपालिका कार्यालय नजिकै छ,दुखको कुरा बजारको पानी व्यबस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न’, उनले भने ।

‘सडकमा हिलो सँगै धुलो पनि उत्तिकै छ,जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुशल गन्तव्यमा पुर्‍याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ’, उनले थपे । नजिकको सरकार स्थानीय सरकारनै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनु पर्ने उनको भनाइ छ । यही बाटो भएर आवत जावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ । धुलो र हिलोले अप्ठेरो बनेको सडक देखि नजिकै नगरपालिका भएपनि सुधारकालागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ । डोल्पालीकालागि भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री,सांसद, जिल्लाका प्रशासक,नगरका जनप्रतिनिधि यही बाटो भएर आवत जावत गर्ने भएपनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएको पाइँदैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर