युवतीलाई शारीरिक सम्पर्क राख्न दबाब दिने ‘स्पा’ सञ्चालक पक्राउ

काठमाडौँ । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ । काठमाडौँ महानगरपालका-९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गरेको छ । उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले सार्वजनिक गरेको हो । उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए । अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ ।

पक्राउ प्रतिवादीले काठमाडौँको रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा उक्त स्पामा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्यूरोले जनाएको छ । स्पा सेन्टरमा काम गर्ने युवतीलाई मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको तथा नमानेमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको खुलेको पङ्गेनीले बताए । पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित रहेको र भने अनुसार नगरेमा/नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने भनी डर त्रासमा पार्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ । उद्धार भएका युवतीमध्ये दुई जना नाबालिका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर