चाँदनी–दोधारा आइसिपीको डिपिआर तयार

काठमाडौं । भारत सरकारको सहयोगमा कञ्चनपुरको चाँदनी–दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रक्रिया अगाडि बढाउने छ ।

समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले पाँच अर्ब ७५ करोड रुपैयाँ लागतमा आइसिपी निर्माण भएपछि सुदूरपश्चिमको निर्यात व्यापार प्रवर्धनमा सहयोग हुने बताए । सुुदूरपश्चिममा न्यून आयात निर्यात हुने गरेकामा आइसिपी निर्माण भएपछि यस क्षेत्रको व्यापार बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए । भारतको गुजरात, दिल्ली नजिक पर्ने हुँदा आइसिपी प्रयोग गरेर निर्यात बढाउन सकिने गजुरेलको भनाइ छ ।
४० हेक्टर क्षेत्रफल जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुई वटा गोदाम भवन, भन्सार चेक भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार रहने छन् । २२० ट्रक अट्ने पार्किङ, टर्मिनल अफिस निर्माण हुनेछ । कोल्ड स्टोरेज, यात्रु शाखासमेत आइसिपीभित्र रहने छ । आइसिपी एकै चरणमा निर्माणको काम गर्ने भारतको योजना रहेको समितिले जनाएको छ ।

महेन्द्रनगरको गड्डाचौकी नाकाबाट झिटीगुन्टाका सामान आयात हुने गर्छ । आइसिपी निर्माण भए पनि सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने अनुमान गरिएको छ । हाल नेपालगन्ज र भैरहवा नाकाबाट सामान आयात हुँदै आएको छ । पहुँच मार्ग निर्माणका लागि भारतीय पक्षले ठेक्का आह्‍वान गरिसकेको र सर्भे सकेर फुटवेजहरू गाड्ने काम सकिइसकेको समितिले जनाएको छ । यो निर्माण हुने जग्गा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हो । जसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संयुक्त रूपमा परियोजना सुरु गर्ने गरी सम्झौता भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर