दोलखाबाट काठमाडौंमा तरकारीको बोरामा सुनको तस्करी

काठमाडौं । दोलखाबाट सुन तस्करीमा संलग्नहरूले सुनको भुक्तानीसहित ठुलो मात्रामा विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित सञ्जाल खडा गरेर तस्करी भएको अनुसन्धानका क्रममा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सुन तस्करीमा पक्राउ परेकाहरूले एक वर्षमा अवैध क्रिप्टो करेन्सीमार्फत दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार युसटीडी कारोबार गरेको खुलेको जनाएको हो ।

हाल प्रतियुनिट क्रिप्टोको मूल्य एक सय ३८ नेपाली रुपैयाँ रहेको दोलखाका प्रहरीले जनाएको छ । चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक नाकाबाट अवैध सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १५ जनालाई प्रहरीले आवश्यक अनुसन्धानपछि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

दोलखाको लामाबगर नाकाबाट झन्डै एक वर्षको अवधिमा विभिन्न आपराधिक समूह बनाएर ३३ किलो सुनको तस्करी भएको तथ्य खुलेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अनुसन्धानले चीनको रोङजिया नाका हुँदै दोलखाको लामाबगरबाट नेपालतर्फ १० महिनामा ३३ केजी सुन तस्करी भइसकेको मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, सुन तस्करीमा दुई विदेशीसहित २७ जना संलग्न रहेको पनि खुलेको छ ।

तस्करहरूले विशेषगरी बालबालिकाको प्रयोगमार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायातमार्फत तस्करीको सुन काठमाडौैंसम्म लग्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

तस्करले लामाबगरको फलाक नाकाबाट डोरीले सुन बोरामा बाँधेर चीनको तिब्बतबाट नेपालतर्फ पठाउने र नेपालतर्फबाट त्यसैगरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको विनालगायत पठाउने गरेको तथ्यसमेत अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ । तस्करी समूहका कतिपय एक अर्कोमा परिचित नभएको समेत पाइएको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । पक्राउ परेकाबाट १० करोड ६८ लाख ६८ हजार सातसय ६१ रुपैयाँबराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँचसय रुपैयाँसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनीहरूले २०७९ साल मंसिरदेखि २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चारसय ४६ रुपैयाँ १५ पैसाबराबरको ३३ केजी सुन अवैध रूपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर