छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा खरना गरिँदै

काठमाडौं । छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजकाे दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ ।

चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख छ ।

महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ । यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अर्घ्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर