छठ पर्वका लागि चार करोडको केरा आयात

काठमाडौं । छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झण्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी केरा मगाइएको छ”, उनले भने ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर