दशैं–तिहार अवधिमा उपत्यकामा एक करोडभन्दा बढीको चोरी

काठमाडौं । उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपैयाँबराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौंका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिए

उनका अनुसार ललितपुरका १० स्थानमा २५ लाख ३० हजार ७५० रुपैयाँबराबरको चोरी भएको छ । त्यसै गरी भक्तपुरका सात स्थानमा ५० लाख ५६ हजार रुपैयाँबराबरको चोरी भएको छ । उनले चोरीका घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिइएको बताए । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौंमा पाँच स्थानमा लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चाडपर्वको बहानामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका १२, ललितपुर र भक्तपुरमा दुई–दुई स्थानबाट प्रहरीले ६९ बुक ताससहित अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले २१ लाख ७१ हजार ३३५ रुपैयाँ बरामद गरेको छ । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौं र ललितपुरका एक–एक स्थानबाट कौडा खेल्ने ३२ जनालाई १२ लाख ९१ हजार ५५० रुपैयाँसहित पक्राउ गरिएको बताए । प्रहरीले आठ जनालाई पटाकासहित पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर