अमेरिका–चीनबीच रचनात्मक र फलदायी छलफल

काठमाडौं ।  चीन र अमेरिकाका राष्ट्रपति सी जिनपिङ र जो बाइडेनबीच प्रत्यक्ष भेटवार्ता भएको छ। दुई शक्ति राष्ट्रका राष्ट्रप्रमुखहरुको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘केही रचनात्मक र फलदायी छलफलहरू’ भएको बताएका छन्।

‘हामीले हाम्रा देशहरू बीचको कूटनीतिको विगत धेरै महिनाहरूमा राखिएको आधारभूत विषयहरुमा रचनात्मक छलफल गर्यौं र महत्त्वपूर्ण प्रगति गर्यौं,’ उनले भनेका छन्। बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई जानकारी दिने एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार सी जिनपिङले जो बाइडेनलाई अमेरिका-चीन सम्बन्धमा ताइवान ‘सबैभन्दा ठूलो, सम्भावित रूपमा खतरनाक मुद्दा’ भएको बताए।

चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र ‘शक्ति प्रयोग गर्न सकिने अवस्था’ बारे कुरा गरेको ती अधिकारीले बताएका छन्। सीले चीनको प्राथमिकता स्वशासित टापु ताइवानसँग शान्तिपूर्ण ‘पुनर्मिलन’ को लागि  भएको पनि दोहोर्‍याएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अमेरिकालाई ताइवानलाई हतियार दिन बन्द गर्न र ‘ताइवान स्वतन्त्रता’ लाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न वास्तविक कदम चाल्न आग्रह गरेको बताएकी छन्। ‘अमेरिकाले ताइवानलाई हतियार दि बन्द गर्नुपर्छ, चीनले पुनर्मिलन महसुस गर्नेछ,’ उनले लेखेकी छन्। दुई नेताले आर्टिफिसियल इन्टेलिजेन्स र लागुऔषध विरुद्धको सहकार्यमा संवाद र कार्यदल गठन गर्न सहमति जनाएको छ। अमेरिकामा फेन्टानिल व्यापारलाई उत्तेजित गर्ने सामग्रीको प्रवाह रोक्न सहमति भएको बताइएको छ।

त्यसैगरी दुई शक्ति राष्ट्रका सेनाहरू बीचको सञ्चार पुनर्स्थापना ‘समानता र सम्मानको आधारमा’ गरिने सहमति भएको पनि जनाएको छ। यस सहमतिपछि वैदेशिक मामिला, सामुद्रिक सैन्य सुरक्षा र सैन्य थिएटर नेतृत्वलाई समेट्ने संवाद संयन्त्र र कार्य बैठकहरू पनि स्थापना हुने भएका छन्। उनीहरूले आफ्ना दुई देशबीच उडान र अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान बढाउनका साथै शिक्षा, युवा, संस्कृति, खेलकुद र व्यापारमा आदानप्रदान विस्तार गर्न सहमत भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर