विश्वकप सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड मुम्बईमा भिड्दैछन् । नेपाली समयअनुसार दिउँसाे सवा २ बजे याे खेल सुरु हुनेछ ।

न्युजिल्याण्डविरुद्धकाे सेमिफाइनल भारतका लागि इंग्ल्याण्डमा सन् २०१९ को विश्वकप सेमिफाइनलमा भएको हारको बदला लिने मौकाका रूपमा पनि छ । तर, विश्वकपलगायत आईसीसी प्रतियोगितामा न्युजिल्याण्डको भारतविरुद्धको राम्राे रेकर्ड छ ।

आईसीसी प्रतियोगितामा हालसम्म दुई टोलीबीच १० खेल हुँदा आठ खेलमा न्युजिल्याण्ड विजयी भएको छ । यद्पि जारी विश्वकपकाे लिग चरणमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेको थियो । भारत लिग चरणका सबै नाै खेल जितेर सेमिफाइनल पुग्दा न्युजिल्याण्डले पाँचमा जित र चारमा हार व्यहाेरेकाे थियाे ।

न्यूजिल्याण्डको कमजोरी थाहा छ : राेहित शर्मा

भारतीय कप्तान राेहित शर्माकाे नजरमा न्युजिल्याण्ड सबैभन्दा अनुशासित टोली हाे । ‘उनीहरू निकै चलाखीपूर्ण ढंगले खेल्छन् । उनीहरूकाे बलियाे र कमजाेर पक्षबारे हामीलाई थाहा छ’, शर्माले मंगलबार भने ।

विलियम्सनले के भने ?

न्युजिल्याण्डका कप्तान केन विलियम्सन सेमिफाइनलमा दुवै टाेलीले  समान अवसर पाउन सक्ने बताउँछन् । खेलअघि मिडियासँग कुरा गर्दै उनले भने, ‘यदि हामीले आफ्नो क्षमता अनुसार खेल्यौँ भने जे पनि हुन सक्छ ।’

‘सेमिफाइनलमा पूरै रंगशाला निलो (भारतीय जर्सीको रंग) हुनेछ भन्ने थाहा छ । हाम्रो टोलीका खेलाडीहरूसँग हरेक परिस्थितिमा खेल्ने अनुभव छ । यस्तो वातावरणमा खेल्न पाउनु पनि विशेष हाे’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर