टिकटकमाथि प्रतिबन्ध विकृति, विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

आज मङ्गलबार भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा प्रधानमन्त्रीले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यस्तो निर्णय गरेको बताए । उनले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताए ।

समाजमा विकृति, विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न सरकार टिकटक बन्द गर्ने निर्णयमा पुगेको उनको स्पष्टोक्ति थियो ।

उनले भने, ‘समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल एक ठाउँमा उभिएर टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेका हौँ ।’

प्रधानमन्त्रीले १० अर्बको कोष खडा गरेर भूकम्पपीडितलाई सहयोग प्रक्रिया अघि बढाएको पनि बताए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आवासको समस्या समाधान गर्न विज्ञहरूबाट अध्ययन गराउनेदेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरेको उनले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर