गाजाको ‘झन्डै श्मशान घाट’ जस्तै : डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताल ‘झन्डै श्मशान घाट’ जस्तै भएको बताएको छ । उत्तरी गाजामा रहेको अल-शिफा अस्पताल इजरायली डिफेन्स फोर्स(आईडीएफ) को आक्रमणको निशानामा परेको छ ।
आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ । तर हमास र अस्पतालले भने त्यसको खण्डन गर्दै आएका छन् । डब्लूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमायरले करिब ६ सय जनाले अस्पतालमा आश्रय लिइरहेको बताएका छन् । ‘अस्पतालभरि शवै शव रहेको छ । जसको उचित व्यवस्थापन गर्न सकिएको छैन । शवलाई पुर्न वा मुर्दाघरमा लैजान सकिएको छैन,’ उनले भनेका छन् ।
हमासको स्वास्थ्य मन्त्रालयले करिब ६५० बिरामीसहित करिब २ हजार ३ सय जना अस्पतालमा रहेको बताएको छ । अस्पतालका व्यवस्थापक डाक्टर मोहम्मद अबु सेलमियाले प्रतिबन्धका बाबजुद अस्पताल चलाउन निकै कठिन भएको बताएका छन् । उनले शवहरू कुहिन थालेको र कुकुरहरू पसेर खान थालेको समेत बताएका छन् । इजरायललले शवहरू व्यवस्थापनका लागि अनुमति नदिएको पनि उनको भनाइ छ । विद्युत् कटौती हुँदा नवजात शिशुहरूको मृत्युसमेत भएको उनले बताए । उनले सात जना नवजात शिशुको अक्सिजन अभावले मृत्यु भएको जानकारी दिएका छन् ।
गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी ११ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।