भूकम्पपीडितलाई छुट्याएर राहत दिने काम गलत हो : सांसद कोइराला

काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र देखिएको गुट–उपगुट र सत्ता गठबन्धनको सहकार्यको अवस्थालगायतका विषयमा केन्द्रित रहेर कांग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद रमा कोइराला पौडेलसँग रफतन्युज डटकमका प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप ।

नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको गुट–उपगुटको वर्तमान अवस्था कस्तो पाउनु भएको छ ?

कोइराला : नेपाली कांग्रेस नेपाली राजनीतिको पुरानो र शक्तिशाली पार्टीका साथै प्रजातन्त्रको सौन्दर्यतालाई आत्मसात गर्ने पार्टी रहेको जगजाहेरै छ । पार्टीभित्र आफ्ना विचार राख्न पाउने अधिकार रहेकाले विभिन्न स्तरमा आवाजहरु उठ्नु स्वाभाविक हो । विभिन्न विचारको मन्थनलाई गुटबन्दी भन्न मिल्दैन । सबै पक्षलाई मिलाएर सभापतिले अग्रसरता जनाउनु भएको छ । पार्टीभित्र वाक् स्वतन्त्रताको छुट भएकै कारण बाहिर यस्तो बुझाई भएको हुनसक्छ । तर समग्रमा पार्टीमा आबद्ध सबै नेताहरु कांग्रेसलाई एकजुट बनाएर विगतमा र वर्तमान अग्रसर बनेका छन् । गुट–उपगुट हुँदा राजनीतिक मन्थन हुन्छ र सकारात्मक परिणाम आउँछ । तर पार्टी वैचारिक र अन्य पाटोमा भने एकजुट भएर प्रस्तुत हुने कांग्रेसको परम्परा रहेको छ ।

तपाईँ संघीय सांसद हुनुहुन्छ वर्तमान गठबन्धन सरकारको कार्यशैलीलाई कसरी मूल्याकन गर्नु भएको छ ?

कोइराला  : एक वर्षमा विगतको गठबन्धन टुटेपछिको अवस्थामा काम नगरेको भन्ने अवस्था छैन परिणाम एकैपटक सोच्नु गलत हुन्छ । कामहरु नियालेर हेरेको छ’ । संसदमा केही कामहरु तत्काल गर्नुपर्ने अवस्था छ । तर त्यसो हुन सकिरहेको छैन । संसदमा केही विधेयकहरु तत्काल ल्याउनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । कुनै पनि सरकारलाई सफल बन्न नदिने एक प्रकारका यस्तो जालोमा सरकार झेलिएको छ, त्यसलाई तत्काल तोड्न सक्ने अवस्था कुनै पनि शक्तिमा देखिँदैन् । हरेका प्रकारका समस्या र अवरोध गर्दै केवल निश्चितको फाइदाका लागि कामहरु हुने रोगलाई नियन्त्रण नगरेसम्म केही गर्न सकिने अवस्था देखिँदैन् । सरकारलाई मात्र नभएर समग्र देशलाई नै प्रभाव पार्ने यस्तो जालोलाई तोड्न सरकार लागिपरेको छ । यसकारण तत्कालै सरकारले काम गर्न नसक्ने अवस्था भन्न सकिँदैन् ।

त्यसो भए कस्तो राजनीतिक व्यवस्था लागू गरिए यस्तो कालो बजारी र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ? हरेक सरकार यस्तो रोगबारे जानकार छैनन् र ?

कोइराला : हाल म यस्तो एक संसदीय समितिमा बसेर काम गरिरहेको छु, जुन उद्योग, आपूर्ति श्रम तथा उपभोक्ता समितिको हो । समितिमा काम गर्दा लाग्यो यहाँको सिस्टमलाई प्रभावित पारेर काम गर्ने यस्तो जालो छ, जसले जताततै पकड जमाएर बसको छ । पुरानै नेता भएर पनि अस्थिर सरकारकै कारण सोचे अनुरूप काम गर्न सकिरहेको देखिँदैन् । ठेकेदारी प्रथाको जालोले देशलाई गाँजेको छ र कसको मान्छेले कुन समयमा ठेक्का पायो त्यही अनुरूप काम हुने गरेको पाए । उदाहणका लागि हाल चिनीको समस्या बजारमा देखिएको छ, केही चिनी उद्योग र गोदाममा चिनी छैन खाली छ तर त्यही ब्राण्डको चिनी बजारमा छ्याप्छ्याप्ती पाइन्छ । यसलाई कसरी हेर्ने तपार्इँ आफैँ भन्न सक्नु हुन्छ । हाम्रो कानुन पनि कस्तो छ भने कालो बजारी गर्नेहरुलाई तीन लाख जरिवाना गरे उनीहरुले उन्मुक्ति पाउँछन् । त्यस्लै म भन्छु हरेक पार्टीका नेताहरुले जनतालाई ठग्ने यस्ता कालाबजारीलाई कडाभन्दा कडा कारवाही गर्ने कानुन निर्माण गरी काला बजारी रोक्नेतर्फ लाग्नुपर्छ ।

वर्तमान गठबन्धनको सरकारको निरन्तरताको आयु कति देख्नु हुन्छ ?

कोइराला :  अवश्य पनि यस वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउँछ । किनभने विगतमा प्रचण्डले कांग्रेस अघि जोसँग गठबन्धन गरे र जुन धोका पाउनु भएको छ त्यसलाई उहाँले सजिलै भुल्न सक्ने अवस्था छैन । अर्को कुरो वर्तमान गठबन्धनमा हरेक विषय छलफलका आधारमा तय भएका छन् जसकारण गठबन्धनमाझ कुनै तिक्तता बढेको छैन ।

कोशी प्रदेशमा परिवर्तित राजनीतिक समीकरणले संघसम्मै असर पार्छ भन्ने विषयलाई कसरी हेर्न सकिन्छ ?

कोइराला : कोशी प्रदेशको सवालमा राजनीतिले यूटर्न लिने अवस्था थियो । मध्यावधिको अवस्थाको राजनीतिलाई निकास दिन यस्तो अवस्थाको सिर्जना भएको हो । त्यहाँ कुनै पनि राजनीतिक दल मध्यावधिमा जाने अवस्था देखिएन र नयाँ राजनीतिक समीकरण देखा परेको हो । पक्ष–प्रतिपक्ष सबै सांसदहरुको मध्यावधिमा नजाने निर्णय भनौं वा आफ्नो पदको संरक्षण र भविष्यमा निर्वाचन भए सांसद पदनै जोखिममा पर्ने देखिएको अवस्थाको परिणाम हो । यो समीकरणले अन्य र संघको राजनीतिमा कुनै फेरबदलको अवस्था देखिँदैन् । संघलगायत अन्य प्रदेशमा पुरानै भनौं वर्तमान गठबन्धनले निरन्तरता पाएको छ ।

भनेपछि कुर्सीकै लागि मात्र कोशी प्रदेशको समीकरण मिलेको हो त ?

कोइराला : मध्यावधि चुनावमामा कुनै पनि राजनीतिक दल जाने वातावरण तयार नहुन एक कारण हो भने कुर्सी बचाऊ प्रमुख कारण हो नढाँटी भन्नु पर्दा ।

भूकम्पपीडितहरुले राहतमा गुनासो गरिरहेका बेला संघीय सांसदका हिसाबले के भन्न चाहनुहुन्छ ?

कोइराला :  जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । प्रारम्भिक अवस्थामा सरकारले देखाएको अग्रसरता राम्रो रहेको छ । भोलिका दिनलार्र्इ सोचेर सरकारले विभिन्न खालका प्याकेजहरु लिएर जान सक्नुपर्छ । भूकम्पलगायत हरेक विपदमा सबै एकै स्थानमा आउने हाम्रो राजनीति संस्कार राम्रो छ । भूकम्पमापीडितलाई छुट्याएर राहत दिने काम गलत हो । पीडितहरुलाई समान रूपमा राहत वितरण गर्न सक्नुपर्छ । राजनीतिक आस्थाका आधारमा यस्तो विपदमा राहत वितरण गर्नु गलत हो, हरेक पीडित नेपाली भएकाले राहत वितरणमा कार्यकर्ताको आधारमा काम गर्न उपयुक्त होइन । एकद्वार प्रणालीलाई लागू गर्दै स्थानीय सरकारद्वारा राहत वितरण गरी स्थानीय निकायमा हुने गडबडीलाई अनुगमन गरी राहत पीडितहरुलाई वितरण गरिनु पर्छ । राहत वितरणमा राजनीतिक दलहरुको उपस्थिति राम्रो हुनुपर्छ, केवल मिडियाबाजीका लागि मात्र राहत वितरणको नाटक गर्नु हुँदैन यस्तो विपदका समयमा ।

राजनीतिमा महिलाको उलेख्य उपस्थिति रहेता पनि गुणात्मक परिणाम न्यून रहेको छ भनिन्छ किन होला ?

कोइराला :  संविधानमै हरेक राजनीतिक क्षेत्रमा एक तिहाइ महिलाको उपस्थिति अनिवार्य गराएको छ । जुन महिलाका लागि एकदमै राम्रो विषय बन्यो र पछिल्लो समय महिलालाई आफूमा भएको खुवी देखाउने अवसर अवसरसमेत मिलेको छ । राजनीतिमा महिलाको उपस्थिति राजनीतिक ज्ञानका आधारमा बढेको भए झनै राम्रो बन्ने थियो । तर त्यसो हुन नसकिरहेको जस्तो मलाई लाग्छ । हामीले राजनीति गर्दा महिलाका सवालमा उठान गर्नुपर्ने धेरै विषय थिए र धेरैजसो सम्बोधन पनि भइसकेका छन् । जसका कारण नयाँ आगन्तुक महिलालाई राजनीतिमा आउन सहज बनेको छ । एजेन्डामा केन्द्रित रहेर नयाँ आगन्तुक महिलालाई राजनीतिमा लाग्न आग्रह गर्दछु । सस्तो प्रचारको भरमा राजनीति नगरौँ, यसलाई दीर्घकाल प्रदान गर्न सक्दैन । महिला राजनीतिमा सफल बने देश अवश्य सफल बन्छ । यसकारण राजनीतिक ज्ञान र देश विकासको एजेन्डा खाकासहित राजनीतिमा लागौँ ।

तपाईँ भक्तपुरबाट संघीय संसदमा प्रतिनिधित्व गरेतापनि भक्तपुरमा ओझेलमा हुनुहुन्छ भनिन्छ के साँच्चिक्कै हो ?

कोइराला : म ओझेलमा छुँ जस्तो मलाई लाग्दैन । म भक्तपुर आएको जम्मा सात वर्ष मात्र भयो । भक्तपुरले मलाई धेरै माया दिएको छ । छोटो समयमा मलाई भक्तपुरले दिएको मायाको कुनै व्याख्या नै छैन । मैले झन्डै तीस वर्ष नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल टे«ड युनियनमा काम गरेँ । त्यति मात्र नभएर मैले सबै टे«ड युनियनहरुको महासंघ जोइन्ट टेड युनियन कोर्डिनेसन कमिटीमा समेत काम गरेर आएँ । म भक्तपुर आउँदा नै आमन्त्रित केन्द्रीय सदस्य थिएँ, पछि भक्तपुरमा वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतबाट पठाउनु भयो, म यस क्षेत्रबाट चुनाव लड्दा महाधिवेशन प्रतिनिधिमा विजय गराउनु भयो । म यहाँबाट महाधिवेशन प्रतिनिधि भएपछि केन्द्रमा निर्वाचन लड्न पनि भक्तपुर सिँगो कांग्रेसले मनदेखि सघाएको हो । म फेरि पनि भन्छु, सांसद हुनुअघि जसरी हरेक वडा, टोल, नगरमा पुग्न सकिन्थ्यो हाल त्यस्तो अवस्था छैन । यो सबै कार्यव्यस्तता कै कारण हो । विगत र आगतमा जसरी मलाई भक्तपुर कांग्रेसले माया गरेको छ भविष्यमा पनि जारी रहने छ । नीति, निर्माणको थलोमा पुगेकाले त्यतै बढी ध्यान केन्द्रित गर्नुपर्ने भएकाले सबैमाझ उपस्थित हुन नसकेको मात्र हो । सबैको माया र ममता जारी नै छ भने आझेलमा परेका भन्न मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर