आज देशभर धनतेरस पर्व मनाइँदै

काठमाडौं ।  नेपालीहरुको ठूलो पर्व तिहार (यमपञ्चक) शुक्रबारदेखि  सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ।

दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेषगरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ। घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा  पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन्। मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई  लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ। आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर