नेपाल–यमन विश्वकप छनोट खेल मंसिर ५ गते

काठमाडौं । विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मङ्सिर ५ गते बेलुकी ७ बजे काठमाडौंको दशरथ रङ्गशालामा उक्त खेल हुनेछ। यसअघि नेपालले युएईसँग घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेसको सल्लाहमा यमनसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

साधारण प्यारापिटतर्फ ४ सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिएको प्रवक्ता शाहले बताउँदै खेल सकिएपछि दर्शकका लागि आवतजावतलाई सजिलो बनाउन साझा यातायात तथा अन्य यातायात कम्पनीसँग कुरा भइरहेको पनि शाहले जानकारी दिए । विश्वकप छनोटका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षण चलिरहेको छ । २६ जना खेलाडीबाट २३ जना छानिने छन् । यमन विश्व फुटबल महासङ्घ (फिफा) को वरियता १५६ औँ र नेपाल १७३ औँ स्थानमा रहेको छ। प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर