रेडक्रसद्वारा भूकम्पपीडितलाई १० करोड सहयोग

काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’ बाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । स्विट्जरल्यान्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) मार्फत नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो ।

आइएफआरसीको महासचिव जगन चापागाइँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भने, “नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिन थालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपत्कालीन कोषमार्फत तत्काल आकस्मिक सहयोग उपलब्ध गरायौँ । म रेडक्रसका स्वयंसेवकलाई भूकम्पपीडितका सहयोगमा जुट्न आग्रह गर्दछु ।”

उनले आगामी दिनमा मानवीय सेवाका लागि आइएफआरसीले थप सहयोग उपलब्ध गराउँदै जाने पनि जानकारी दिए । जाजरकोट र रुकुम पश्चिममा अहिले सोसाइटीका तालिम प्राप्त नब्बेभन्दा बढी स्वयंसेवक भूकम्पबाट प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा अनवरत रूपमा जुटिरहेका छन् । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प गएको थियो । यसपछि तत्काल ‘पहिलो उद्धारक’ रूपमा सो मानवीय संस्थाका स्वयंसेवक उद्धारमा जुटेका थिए । प्रारम्भिक प्रतिवेदनका अनुसार मुख्यगरी ती दुई जिल्लामा हालसम्म भूकम्पबाट एक सय ५० जनाभन्दा बढीको मृत्यु, तीन सय ४५ घाइते, १२ हजार ०६ परिवार विस्थापित, ३८ हजार सात सय पाँच प्रभावित, नौ हजार चार सय ८३ घर क्षति, १९ हजार दुई सय ८६ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

सोसाइटीले हालसम्म एक हजार सात सय म्याट्रेस, एक हजार पाँच सय तारपोलियन, सोही सङ्ख्यामा ब्ल्याङ्केट, दुई सय बुकटेस, एक हजार रोपेस भूकम्पपीडितलाई वितरण गरिसकेको जनाएको छ ।

आवास र गैरखाद्य सामग्री ÷नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेस, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ जीविकोपार्जन तथा अत्यावश्यक वस्तु एकीकृत रूपमा भूकम्पपीडितलाई उपलब्ध गराउने नीति नेपाल रेडक्रसले लिएको छ । राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने आएफआरसीले जनाएको छ । भूकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटापन्न परिवारलाई न्यानो कपडासहित नगद सहयोग गर्ने नीति रेडक्रसले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर