प्रिन्सिपल सर्राफको हत्या आफ्नै प्रेमिकाले गराइन्

काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या विहेत्तर सम्बन्धका कारण भएको प्रहरीले बताएको छ । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विहेत्तर सम्बन्धका कारण सर्राफमाथि गोली प्रहार भएको हो । विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरुषसँग पनि रिलेसनसीपमा रहेको खुलेको एसपी काफ्लेले बताए । सोमबार दिनदहाडै रूपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् ।

ती पुरुषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न पटक–पटक दवाव दिएको पनि पाइएको छ । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् । एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका देखिएको बताएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् । घटना संलग्न दुई जना पुरुष र एक जना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको परिचय अहिले खुलाइएको छैन । आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर