सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द

काठमाडौं । सूर्यविनायकदेखि रत्नपार्कसम्मको द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको दिन असोज ३ गतेदेखि सुरु भएको द्रुत बससेवा दशैँदेखि नै बन्द भएको हो । द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैँदेखि तिहारसम्म काठमाडौं उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको बताए । उनले तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुने बताए । द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ ।

असोज ३ गतेदेखि द्रुत बस नमुना परियोजनाका रूपमा सेवा सुरु गरिएकोमा अब भने पूर्णरूपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्नेगरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरिएको छ । द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे दुई करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रातो रङ्ग पोतेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर