“धनी राष्ट्रहरूको क्रियाकलापको असर नेपालले भोग्नुपर्‍यो”

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले नेपालजस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूको क्रियाकलापको असर भोग्नुपरेको औँल्याएका छन् । उनले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दाले भोग्नुपरेका सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरुरी हुने बताए ।

पोखरा विमानस्थलमा मङ्गलबार पत्रकारमाझ उनले आफ्नो नेपाल भ्रमणले विश्व समुदायलाई नै जलवायु परिवर्तनका असर कम गर्न अत्यावश्यक भएको सन्देश दिएको सुनाए । उनले भने, “मेरो भ्रमणको विश्वलाई स्पष्ट सन्देश हो कि प्रकृतिविरुद्धका क्रियाकलाप रोक्न जरुरी छ । नेपाल र अरू देशलाई सहयोग गर्नै पर्छ, जसका कारण जलवायु परिवर्तन भएको छैन तर उनीहरू त्यसको पीडा भोग्न बाध्य छन् ।”

जलवायु परिवर्तनबाट धेरै समुदाय नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उनले ती समुदायलाई अन्तर्राष्ट्रिय समुदायले साथ दिनुपर्नेमा जोड दिए । यसअघि उनले सोमबार बिहान अन्नपूर्ण बेस क्याम्प (एबिसी) गई त्यहाँका स्थानीयसँग समेत कुरा गरेका थिए ।

एबिसीका स्थानीयले जलवायु परिवर्तनका कारण भोग्नुपरेका कठिनाइहरू उनलाई सुनाएका थिए । एबिसीका होटेल रहेको क्षेत्र नै हिमनदीको कटानले जोखिममा परेको छ । एबिसीबाट पोखरा फर्किएका उनी पत्रकार सम्मेलनपछि पौने १० बजे नेपाली सेनाको विशेष विमानमार्फत लुम्बिनी प्रस्थान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर