त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जित्यो

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पूरा गर्‍यो । कप्तानसमेत रहेका ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्‍याए । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् । नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए । कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनायो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे । यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनल भिडन्तमा नेपालले नतिजा सुम्पिन पुग्यो । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर