एसीसी प्रिमियर कप : साउदी अरबलाई नेपालले दियो ३४८ रनको विशाल लक्ष्य
काठमाडौं । अर्जुन कुमालको शानदार शतकसँगै नेपालले १९ वर्ष मुनिको एसीसी प्रिमियर कपमा साउदी अरबलाई ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो । नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय पारी खेले।
यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए । दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपकप्रसाद डुम्रेले १४–१४ रन बनाए भने मिलन बोहराले ९ रन जोडे । साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले दुई–दुई विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले एक एक विकेट लिए ।
आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ । समूह चरणको दुई खेलमा नेपालको प्रर्दशन शानदार छ । पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।