गैरआवासीय नेपालीलाई नागरिकता वितरण राष्ट्रघाती कार्य : साह

काठमाडौं ।  आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता वितरण राष्ट्रघाती कार्य भएको दाबी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष र उपाध्यलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेलगत्तै प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष साहले सो टिप्पणी गरेका हुन्। गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो।

‘दुनियाँमा कहीँ नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने पक्का छ’, साहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हाला मच्चाएर आज ठूलो राष्ट्रघाती कार्य हुँदै छ।’ गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरूको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरी विदेश लैजान बाटो खुल्ने दाबी उनले गरेका छन्।

‘खर्बाैँको चल सम्पत्ति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनीहरूले अब आफ्नो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन्’, साहको भनाइ छ, ‘नेपालमा लुटेर राखेका सम्पत्तिसमेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन।’ गैरआवासीय नेपाली नागरिकता वितरणविरुद्ध आम जनता पार्टी आन्दोलनमा उत्रने चेतावनी पनि अध्यक्ष साहले दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर