जर्मनीमा कामदार प्रवेशमा लचकता, नेपालीले पनि अवसर पाउने

काठमाडौं । युरोपको सबैभन्दा धनी मुलुक जर्मनीले नेपाललगायत अन्य मुलुकका कामदारका लागि प्रवेश कानुन थप सहज बनाएको छ ।
अब, कुनै पनि दक्ष कामदारको लागि जर्मनी राम्रो गन्तव्य हुनसक्छ, काम गर्न र कमाउनको लागि । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जर्मनीले यही नोभेम्बर महिनादेखि विदेशी कामदारलाई सहजतापूर्वक भित्र्याउने नयाँ कानुन लागू गर्ने भएको छ । सन् २०२३ को नोभेम्बर, २०२४ को मार्च र २०२४ जुन महिनामा गरी तीन पटक जर्मनीले यसरी कामदार भित्र्याउने योजना बनाएको छ । जर्मनीले हालै नेपालसँग समेत कामदार लैजाने सम्झौता गरेको छ । त्यसका लागि युरोप बाहिरबाट त्यहाँ काम गर्न जाने कामदारको लागि प्रवेश कानुन थप सहज बनाएको छ ।

जर्मनीले जम्मा ६० हजार गैरयुरोपेली कामदार भित्र्याएपछि त्यहाँ हाल रहेको कामदारको अभाव अन्त्य हुने विश्वास गरिएको छ । नयाँ नियमले व्यावसायिक र गैरप्राज्ञिक तालिम लिएकाहरूप्रति लक्ष्य गरेको छ । त्यहाँको सरकारले विश्वविद्यालयबाट कुनै निश्चित क्षेत्रको अध्ययन गरेका दक्ष कामदारलाई समेत जर्मनी प्रवेश गर्न विगतभन्दा सहज बनाएको छ ।

सन् २०२२ मा त्यहाँको इन्स्टिच्युट फर इम्प्लोयमेन्ट रिसर्च (आईएबी) ले गरेको अध्ययनबाट जर्मनीमा १७ लाख ४० हजार कामदारको आवश्यकता रहेको देखिएको थियो । पछि सन् २०२३ को जुलाईमा म्युनिखस्थित आधा जसो कम्पनीलाई कामदार अभाव हुँदा उनीहरूले आफ्नो सेवा कटौती गरेको थियो ।

नयाँ नियमअनुसार वैधानिक रूपमा जर्मनी प्रवेश गर्नेले त्यहाँ गएर कामको खोजी गर्न पाउनेछन् भने कामको अनुमति प्राप्त भएपछि साताको २० घण्टा काम गर्न पाउने छन् । नयाँ नियमको अर्को राम्रो पक्ष भनेको त्यहाँ जाने कामदारले आफ्नो परिवार समेत लिएर जान पाउनेछन् भने आवश्यक प्रक्रिया पूरा गरेर त्यहीको स्थायी बासिन्दासमेत बन्ने अवसर प्राप्त गर्न सक्नेछ ।

जर्मनीको लागि आवेदन दिन कुनै व्यावसायिक तालिम वा डिग्री लिएको, कम्तीमा तीन वर्ष कामको अनुभव भएको, जर्मन भाषाको ज्ञान भएको वा पहिले जर्मनीमा बसोबास गरिसकेको र ३५ वर्ष वा सोभन्दा कम उमेर भएको हुनु पर्नेछ । यी चारमध्ये कुनै तीन प्रक्रिया पूरा गरेकाले आवेदन दिन सक्ने व्यवस्था नयाँ नियममा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर