आज गैरआवासीय नेपालीको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आज (मंगलबार) बाट सुरू हुँदैछ।  ११ औंअन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुने छ।

नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ। वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको छ।

कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।

विश्वभरी छरिए रहेका एक लाख सदस्यहरुबाट करिब ४२ सय गैरआवासीय नेपाली संघ एनआरएनका डेलिगेटसको  सभामा उपस्थिति रहने आयोजकले जनाएका छन् । उक्त सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले एनआरएन सदस्यहरुले  आफ्नो नयाँ नेतालाई समेत चयन गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कतारबाट आरके (राजेन्द्र कुमार) शर्मा, रुसबाट डा बद्रि केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रविना थापाको उम्मेदवारी दिएका छन।

यसैबीच मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गर्दैछन्। उनले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्न लागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर