लाओसविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा मंगलबार (आज) लाओसविरुद्ध जित्नै पर्ने दबाबसहित मैदान उत्रिदै छ ।

यसअघि दशरथ रंगशालामा सम्पन्न पहिलो लेगमा १/१ को बराबरीमा रोकिएपछि दोस्रो चरण प्रवेशका लागि आज नेपाललाई जित्नै पर्ने दबाब छ । फिफाले अवे गोलको जित हटाएका कारण दोस्रो चरणमा प्रवेशका लागि दुवै टिमलाई स्पष्ट जितको आवस्यक छ । खेलको निर्धारित समयमा नतिजा नआए ३० मिनेट अतिरिक्त समय थप गरिनेछ । अतिरिक्त समयमा पनि नतिजा नआए खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।

नेपाल र लाओसबीच हालसम्म चार पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये तीन खेल नेपालले जित्दा एक खेल भने बराबरीमा टुंगिएको छ ।खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका थिए ।

“पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । हामीले यो विषय म्याच कमिस्नरमा पनि उठाएका छौँ । दोस्रो लेगका लागि हामीले निकै राम्रो तयारी गरेका छौँ,” उनले भने, “यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ । यदि, हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ । तर, हामी भिडन्तको लागि तयार छौँ । हामी आक्रामक फुटबल खेल्नेछौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर