दशैँसँगै खसीबोका र च्याङ्ग्राको कारोबार सुरु

काठमाडौं ।  खसीबोका र च्याङ्ग्राको कारोबार सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको जनाएको छ । कम्पनीले यस वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा काठमाडौं  ल्याएर बेच्ने तयारी गरेको छ ।

आजैदेखि खसीबोका र च्याङ्ग्रा बिक्री थाल्ने कम्पनीले जनाएको छ । कम्पनीले सहुलियत दरमा बेच्ने खसी, बोका र च्याङ्ग्राको मूल्य निर्धारण गर्न भने बाँकी छ । काठमाडौं  ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाग्मती प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने तयारी छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।

यस्तै, पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन सुरु गरेको छ । विभागले काठमाडौंका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान शुरु गरेको हो । काठमाडौं विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको छ ।

खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ । पशु चिकित्सकले दशैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।

दशैँको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगबाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना भएकाले परीक्षणमा कडाइ गरिएको विभागले जनाएको छ । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न पनि विभागले सुझाव दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर