मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भू–बनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिए । एडिबी सो आयोजनाको दातृ निकाय हो। मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ।

पन्तले भने, “बैङ्कले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ। अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ।

कम्पनी छनोट भइसकेपछि हेडवर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने प्रवक्ता पन्तको भनाइ छ। नयाँ हेडवर्क्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डिपिआर निर्माणपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।

उनले भने,, “हेडवर्क्स निर्माण गरेर मात्र हुँदैन। नयाँ हेडवर्क्स निर्माण हुने स्थानबाट अहिलेको हेडवर्क्स रहेको स्थानसम्म पानी पथान्तरणका लागि सुरुङ मार्ग निर्माण गर्नुपर्छ। त्यसैगरी नयाँ हेडवर्क्ससम्म पुग्न पहुँच मार्ग, हेडवर्क्स क्षेत्रमा अन्य संरचनामा समेत निर्माण गर्नुपर्छ।”

मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरिए पनि अहिलेसम्म सो आयोजना स्थायी रूपमा सञ्चालनमा आउन सकेको छैन। सुरुमा १५ अर्ब रुपैयाँ लागत भनिएकोमा कुल लागत ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर अस्थायी रूपमा निर्माण गरिएको सो आयोजनाबाट अहिलेसम्म नियमित रूपमा पानी वितरण गर्न सक्ने अवस्था छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर