प्रधानमन्त्रीको दावी अर्कोतिर कोशीमा सरकार एमालेतिर

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराएका थिए । गठबन्धन दलहरूबीच भएको सहमति अस्वीकार गर्दै कार्की नेकपा एमालेको सहयोगमा शनिबार संविधानको धारा १६८ को उपधारा ५० अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नेपाली कांग्रेसको संस्थागत निर्णयविरुद्ध उभिँदै मुख्यमन्त्री बनेका कार्कीले आज आइतबार सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री बनाउन विशेष भूमिका निर्वाह गरेका इलामका सांसद शमसेर राईलाई आफ्नो समूहबाट मन्त्री नियुक्त गरेका छन् भने सहयोगी दल एमालेबाट पूर्व कृषिमन्त्री समेत भइसकेका इलामकै सांसद तथा एमाले संसदीय दलका उपनेता राम रानामगरलाई मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराए । केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी कांग्रेसको निर्णय नमानेर कांग्रेस नेता डा. कोइराला समूहबाट मुख्यमन्त्री बनेपछि शनिबार मात्र प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र डा. कोइरालाबीच सत्ता गठबन्धनलाई बलियो बनाउने भन्दै लिखित समझदारी बनेको थियो ।

तर, आइतबार मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धन दलसँग डा. शेखर कोइरालाले गरेको सहमति पनि पालना भएको देखिएको छैन । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अहिले कोशीमा सर्वदलीय सरकारको आवश्यकता नभएको भन्दै अन्य दलबाट मन्त्री नियुक्त गरे एमाले सरकारमा सहभागी नहुने सन्देश दिएपछि कार्कीले गठबन्धन दललाई सरकारमा समावेश नगरेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर