दसैँमा मौसम सफा रहने, मनसुन बाहिरिने क्रम जारी

काठमाडौं । आउँदो सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान छ । ती दुई दिन देशभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार वर्षा हुने देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार उक्त अवधिमा देशभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ । अरू स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्नेछ । बुधबार दिउँसोदेखि मौसम खुल्दै जाने उनले बताइन् ।

दसैँ सफा हुने
शनिबारको स्थितिबाट पूर्वानुमान गर्दा यो वर्षको दसैँ अवधिमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् । दसैँमा मौसम सफा हुने उनको भनाइ छ । “बिहीबारपछि मौसम सफा हुनेछ,” उनले भनिन्, “अहिलेसम्मको अवस्थाबाट हेर्दा दसैँमा वर्षा हुने सम्भावना देखिँदैन ।”

मनसुन बाहिरिन अझै केही दिन लाग्ने
नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ । देशबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् । “केही दिन लाग्ने देखिन्छ,” उनले भनिन्, “मनसुन बाहिरिइसकेको अवस्था छैन ।” शनिबार (असोज २७) गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश र गण्डकीका पश्चिमी भूभागबाट मनसुन बाहिरिइसकेको थियो ।मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ । यो वर्ष एक दिन ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर