प्रधानमन्त्रीले परिभाषित गरे मुख्यमन्त्री कार्कीको औचित्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनबीच देखिएको समस्या सामाधान भएको बताएका छन् ।गृह जिल्ला चितवन आएका प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोशीमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनभित्र केही समस्या आएको भए पनि त्यसको ‘सेटलमेन्ट’ गरिएको उनले बताए ।

“कहिलेकाँही गठबन्धनभित्रका पार्टीभित्र पनि अलि वादविवाद हुन्छ नै । त्यो वादविवादले गठबन्धनलाई झन् बलियो बनाएर लैजानेछ”, पत्रकारको जिज्ञासामा उनले भने, “आज बिहान मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग म आफैँ बसेर एउटा समझदारी बनाएको छु । गठबन्धनलाई बलियो बनाउने कुरामा हामीबीच समझदारी बनेको छ । कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिनेछैनौं ।”

उनले भने, “नयाँ समझदारीअन्तर्गत कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री हुनुभएको छ, त्यो हामी सबैको मुख्यमन्त्री हो । त्यसकारण त्यो समस्या जसरी सोचिएको थियो, त्यो केही होइन । मिडियामा जसरी चर्चा परिचर्चा गरिएको थियो त्यस्तो हैन । आज भएको सहमतीले गठबन्धनलार्इ अझ बलियो बनाउन सहयोग पुग्नेछ ।”

प्रधानमन्त्री प्रचण्ड कांग्रेसका नेताहरुसँग भेटगरी सहमति जुटाएर चितवन आएका हुन् । उनले अब विश्वासको मत दिँदा आफूहरुले कार्कीलाई नै समर्थन गर्ने बताए । यस्तो अवस्थामा कार्कीलाई एमालेको समर्थन रहनसक्ला कि नसक्ला भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले अबको सरकार पनि गठबन्धनकै बन्ने दावी गरे । “यस्तो अवस्थामा अब एमालेले गठबन्धनमा रहने नरहने भन्ने कुरा एमालेले बुझ्ने कुरा हो । यसमा धेरै टिकाटिप्पणी गर्न जरुरी छैन । हाम्रो गठबन्धन ‘इन्ट्याक्ट रहन्छ । गठबन्धनकै उम्मेदवारका रुपमा उहाँ (कार्की) लाई सहयोग गरिनेछ” उनले भने ।

कोशीमा तत्काल सर्वपक्षीय सरकार बन्न सक्ने सम्भावना आफूले नदेखेको र त्यो असम्भव पनि नभएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । उनले देशमा बढ्दो आर्थिक समस्या अहिले सामाधानउन्मुख भएको बताए । “अर्थतन्त्रमाथि दवाब पर्नुमा धेरै कारण छन् । अहिले भनिसाध्य छैन । यो सुधारोन्मुख अवस्थामा गएको छ” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर