बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५१३ वटा पराकम्पन

काठमाडौं । बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गत असोज १६ गते गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएकाले भूकम्पको जोखिम अझै कायम रहेको समेत बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञसहितको टोलीले सदरमुकाम चैनपुरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भूकम्पको जोखिम अझै कायम रहेकाले सचेत रहन आमनागरिकलाई आग्रह गरेको छ ।

भूकम्पविद लोकमणि अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए ।

उनले असोज १६ गते यता मात्र बझाङमा केन्द्रबिन्दु बनाएर ४१३ वटा साना तथा ठुला पराकम्पन गएको बताउँदै भूकम्प कहिले, कति र कहाँ आउनसक्छ भन्नेबारे अहिलेसम्म अध्ययन समेत भइनसकेकाले भूकम्पको जोखिम कायम रहेको बताए । उनले ठुलो भूकम्पबाट आउन सक्ने शक्तिसँग लड्न सक्नेखालको भौतिक संरचना नरहेकाले भूकम्पमा सुरक्षित भएर बस्ने विकल्प नरहेको बताए ।

भूकम्पसँग सम्बन्धित जानकारी तथा अध्यायनको अनुभव समेत सुनाउँदै उनले यो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेकाले यसको दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारले बेलैमा सोच्नुपर्ने समेत उनको सुझाव छ । सरकारले अब बनाउने संरचनाहरू भूकम्पमैत्री बनाउनमा जोड दिनुपर्ने, सरकारले भवन संहिता ऐन ल्याइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बझाङ जिल्लाका विभिन्न ४ वटा ठाउँमा भूकम्प मापनका लागि सिस्मोमिटर समेत जडान गरेको छ । जिल्लाको तल्कोट, दौलिचौर दुर्गाथली र चैनपुरमा सिस्मोमिटर जडानगरी भूकम्पबारेमा अध्ययन अनुसन्धान गर्न समेत सहज हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर