माओवादीका इन्द्र आङ्बोलाई कोशीमा मुख्यमन्त्री बनाइने

काठमाडौं । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहीबार बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्री बनायने निर्णय गरेको हो । यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ ।

यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल भएको थियो । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटिसकेका छन् । गठबन्धनलाई सरकार गठनमा सघाएमा कोशी प्रदेशको सभामुख राप्रपालाई दिन पनि दलहरू सहमत भएका छन् । तर राप्रपाले औपचारिक निर्णय गरेको छैन ।

नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि शुक्रबारर साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिएको छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् । एमालेका ४० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर