श्रीलङ्काविरुद्ध पाकिस्तानको कीर्तिमानी जित
काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानले श्रीलङ्काविरुद्ध कीर्तिमानी जित हालत पारेको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३४४ रनको योगफल बनाएको थियो । ३४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०११ को विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डले राखेको ३ सय २९ रनको लक्ष्य भेट्याएको थियो । पाकिस्तानका लागि अब्दुल्लाह शफिकले ११३, मोहम्मद रिजवानले अविजित १३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लागि दिलशन मदुसन्काले दुई विकेट लिए ।
यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।
बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए । जारी विश्वकपमा श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।