कांग्रेसले कोशीमा सरकार गठनका लागि पहल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए ।
‘हाम्रो गठबन्धन छ । गठबन्धनमा पहिल्यै कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति छ । त्यहीअनुसार यसअघि प्रतिकूल अवस्थामा पनि कांग्रेसले नेतृत्व गर्न खडा भयो,’ विश्वकर्माले भने, ‘अब सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा हुँदैन । तर त्यसकालागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी छ ।’