एमालेद्वारा हमासको आतंककारी आक्रमणको निन्दा र भर्त्सना

काठमाडौं । नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा गरिएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज एक वक्तव्य प्रकाशित गरी घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

“यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेका र कयौं अफ्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले वक्तव्यमा भनेका छन्, “हामी यस घटनाबाट ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु ।”

अध्यक्ष ओलीले घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि नेपाल सरकारसमक्ष जोडदार माग गरे । वक्तव्यमा निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरू थप बढाउन मद्दत गर्छ भन्ने पार्टीको ठम्याइ रहेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर