हमासको रकेट आक्रमणबाट ७ जना नेपाली घाइते

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको रकेट आक्रमणमा परेर ७ जना नेपाली घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा परी घाइते भएका हुन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन् । राजदूत रिजालले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थी आक्रमणकारीको घेरामा रहेको जानकारी दिइन् ।

यसैबीच, इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई आग्रह गरेको छ । राजदूत रिजालका अनुसार आक्रमण जारी रहेकाले विद्यार्थीलाई सतर्क रहन आग्रह गरिएको छ भने नेपाली विद्यार्थीसँग नियमित सम्पर्क भइरहेको छ । विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भएको बताइएको छ ।

गैरआवासीय नेपाली संघ, इजरायलले सूचना जारी गर्दै इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । आज बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर