ओखलढुङ्गा सामुदायिक अस्पतालमा शिशुको मृत्यु भएपछि तनाव

काठमाडौं । ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन) मा उपचारको क्रममा एक शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ। ५३ दिने शिशुको उपचारका क्रममा मृत्युभएपछि शनिबार दिनभर अस्पतालमा आफन्तले विरोध जनाएका हुन्।

सिद्धिचरण नगरपालिका–५ का डोमप्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार पिसाब रोकिएर गम्भीर अवस्थामा पुगेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।

तर आफन्तले भने उपचारका क्रममा त्रुटि भएको आरोप लगाउँदै छानबिन गर्दै कारबाहीको माग गरेका छन्। मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेका छन्। आफन्तले विरोध जनाएपछि अस्पतालले आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पष्टीकरण सोधिएको छ।

आफन्तले आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीले सामान्य जाँचसमेत नगरी ओपिडीतर्फ पठाएको आरोप लगाएपछि अस्पतालले कटुवालसँग लिखित स्पष्टीकरण सोधेको हो। अस्पतालले उक्त घटनाका विषयमा छानबिन गर्न आन्तरिक छानबिन समिति बनाएको छ। सोही समितिले कटुवाललाई किन कारबाही नगर्ने ? भन्दै लिखित स्पष्टीकरण सोधेको हो।

अस्पतालमा कार्यरत डा. जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानबिन व्यवस्थापन समितिको गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पतालका निर्देशक डा. रोशन खरेलले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर