तनहुँमा डेंगुबाट चारजनाको मृत्यु, चार हजारभन्दा बढी संक्रमित

काठमाडौं । तनहुँमा चार हजारभन्दा बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ भने चार जनाले ज्यान गुमाएका छन् । डेंगुको प्रकोप बढ्न थालेपछि तनहुँ उच्च जोखिममा परेको छ ।

हाल सम्ममा चार हजार दुई सय ३९ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । सङ्क्रमितमध्ये ८६ प्रतिशत व्यास नगरपालिकाको रहेको अधिकारीले बताए । मृत्यु हुनेमा चारै जना व्यास नगरपालिकाका रहेका छन् ।

व्यास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ का ४ वर्षीय बालक र १३ वर्षीया बालिकाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए । डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए ।

जिल्लामा रोग फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले समेत एक महिने रोग विरुद्धको अभियान गरेको छ । असोज १५ देखि सुरु भएको अभियोजन कात्तिक १५ गतेसम्म सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटी तनहुँका महामन्त्री सूर्यचन्द्र हड्खलेले जानकारी दिए । अभियानमा स्वास्थ्य सचेतनालाई प्राथमिकता दिइएको उनले जानकारी दिए । रेडक्रसले डेंगु नियन्त्रण तथा रोगथामका लागि स्वयंसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट लगायतका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर