काठमाडौंमा माछा पसल हडताल, भ्याट खारेज गर्न व्यवसायीको माग

काठमाडौं । काठमाडौं उपत्यकाका माछा पसल गत मंगलबारदेखि बन्द छन्। माछा किन्न ग्राहकहरू पुगे पनि व्यवसायीले पसल खोलेका छैनन्। सरकारले भारतबाट आयात गर्ने माछामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको र भण्डारणका लागि महँगो पर्ने गरी प्रक्रिया तोकेको भन्दै व्यवसायीले आन्दोलन थालेका हुन्।

सरकारले ताजा माछा आयातका लागि प्रयोग हुने ‘एचएस कोड’ (भन्सार प्रक्रियामा वस्तुको पहिचानको लागि निर्धारित संकेत अंक) भन्सार विभागले स्थगन गरेपछि आफूहरूलाई समस्या भएको कालीमाटीमा माछा पसल सञ्चालन गर्ने विपिन साहले बताए। एचएस कोड पाएका वस्तुको आयातमा भ्याट नलाग्ने हुँदा कोड स्थगित गरेपछि भ्याट तिर्नुपर्छ।

भन्सार विभागले गत भदौ १९ गते माछा आयात हुनेमध्ये एउटा उपशीर्षक स्थगन गर्ने आन्तरिक निर्देशन जारी गरेको थियो। आर्थिक ऐन २०८० को दफा ५ को उपदफा ३ अनुसारको अनुसूची–१ मा भएको व्यवस्था परिवर्तन गरेर विभागले निर्देशनसहितको परिपत्र जारी गरेको हो। उक्त अनुसूचीको ०३।०२ मा ताजा वा चिसो पारेको माछा र शीर्षक (३.०३ मा हिमीकृत (फ्रोजन) गरिएको माछा वर्गीकरण हुने व्यवस्था छ।

यो व्यवस्थाले हिमीकृत गरिएका माछासमेत भन्सार कार्यालयहरूबाट ताजा वा चिसो पारेको माछाको रूपमा वर्गीकरण भई जाँचपास हुनसक्ने भएको हुँदा राजस्व संकलनमा असर पर्न जाने देखिएको विभागको परिपत्रमा उल्लेख छ। सूचना प्रविधि पूर्वाधार शाखालाई सम्बोधन गरिएको परिपत्रमा भनिएको छ, “सम्बन्धित भन्सार कार्यालयबाट शीर्षक ०३।०२ कै माछा भएको यकिन गरी विभागमा अनुरोध गरेमा सञ्चालन गर्ने गरी हाललाई शीर्षक ०३.०२ अन्तर्गतका सबै उपशीर्षक आसिकुडा प्रणालीमा स्थगन गर्ने।”
कालीमाटीका व्यवसायी साह नयाँ परिपत्रले आफूहरूलाई समस्या भएको बताउँछन्। “नयाँ व्यवस्थाअनुसार भन्सारले हाम्रो माछालाई फ्रोजेन माछाको शीर्षक ०३.०३ मा मात्र आयात गर्न दिने भयो। मैले वीरगन्ज भन्सार भएर एक ट्रक माछा ल्याउन लागेको बेला ठ्याक्कै नयाँ कुरा आयो,” साहले भने, “०३.०३ उपशीर्षकमा फ्रोजेन माछा मगाउँदा १३ प्रतिशत भ्याट लाग्ने रहेछ। त्योभन्दा पनि गाह्रो पक्ष चाहिँ ताजा माछालाई फ्रोजेन बनाएर भित्र्याउन माइनस १८ डिग्री तापक्रम कायम गर्नुपर्छ। त्यति तापक्रम कायम नगरे ओसारपसार र भण्डारण गर्न नपाइने भयो।”
ति कम तापक्रम बनाउन आफूहरूसँग उपकरण र उपयुक्त ढुवानी साधन नभएको साह बताउँछन्। ती उपकरण र ढुवानी साधन महँगो पर्ने पनि उनले बताए। भन्सारबाट ताजा माछालाई फ्रोजेन भनेर जाँचपास गराइसकेपछि कानूनी उल्झनमा पर्न सक्ने डर पनि भएको उनको भनाइ छ।

भन्सार विन्दुबाट माछा ओसारपसार गर्दा वा बिक्रीको लागि बजारमा भण्डारण गर्दा माइनस १८ डिग्री तापक्रम कायम नगरेको भेटिए दोषी ठहरिने आधारसहितको परिपत्र भन्सार विभागले गरेको व्यवसायी बताउँछन्। काठमाडौं माछा बजार समिति, कालीमाटीका महासचिव रामचन्न्द्र गामी भन्सार विभागको परिपत्रअनुसार ताजा माछाको वैध व्यापार हुन नसक्ने बताउँछन्। काठमाडौं माछा बजार समितिमा काठमाडौं उपत्यकाका सम्पूर्ण माछा व्यवसायी आबद्ध रहेको महासचिव गामीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर