राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति लिङदेनको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा  उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र विरोधी के गतिविधि गरे ? भनी प्रश्नसमेत गरे ।

अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र विरोधीगतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे । उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनी सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे ।

अध्यक्ष लिङदेनले भने– ‘केही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसको निगरानी गर्नुप-यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन् । उनको गतिविधिमा ध्यान दिनुप-यो भनेर आग्रह गरे, अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ ? राजावादीहरुको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । र, लोकतन्त्र विरोधी भएको छ ? म त्यसको जानकारी  चाहन्छु । र, त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु । जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु । ’

लिङ्देनले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग

यसैबीच नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लिङ्देनले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । “नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एक जना माननीय सदस्यले राजा शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो, राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस्”, उनले भने । लिङ्देनले ज्ञानेन्द्र शाहको नाम लिँदा पूर्वराजा भनेका थिएनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर