अमेरिकाले मेक्सिको सीमामा पर्खाल लगाउने

काठमाडौंं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ ।

अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिने मन्त्री मेयरकासले बताउनुभएको छ । यो आर्थिक वर्षमा अमेरिकामा दुई लाख ४५ हजारभन्दा धेरै व्यक्ति अवैधरूपमा प्रवेश गरेको तथ्याङ्क छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेकै दिन एक घोषणा गर्दै सीमामा पर्खाल निर्माण गर्न करदाताको थप रकम नछुट्याइने घोषणा समेत गरेको थियो ।

बाइडेनका लागि अवैध आप्रवासन एउटा प्रमुख राजनीतिक मुद्दा बनेको छ र विपक्षी रिपब्लिकनहरूले सीमा नीतिमा ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका छन् । सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति ट्रम्पले यो कदमलाई आफू सही रहेको देखाएको प्रतिक्रिया दिएको समाचार संस्था एएफपीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर